दाङ, तुलसीपुरमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ४३ वर्षीय शिक्षक डिआर भण्डारी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी का अनुसार पीडित किशोरीको किटानी जाहेरीका आधारमा बुधबार बिहान उनलाई पक्राउ गरिएको हो। यसै घटनामा मंगलबार पक्राउ परेका अर्का एक व्यक्तिको संलग्नता नदेखिएकाले रिहा गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राति तुलसीपुर उपमहानगरपालिका–६ स्थित एक होटलमा वेटरका रूपमा पुगेकी किशोरीमाथि जबरजस्ती करणी भएको आरोप छ। घटनापछि किशोरीले गुहार मागेपछि अन्य ग्राहकले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले पीडितको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको जनाएको छ।
प्रहरीका अनुसार आरोपी घटनास्थलबाट गाडीमा भाग्ने क्रममा लक्ष्मीनारायण मन्दिर नजिक दुर्घटनामा परेका थिए। गाडी छाडेर फरार भएका उनलाई बुधबार बिहान पक्राउ गरिएको हो।
प्रहरीले आरोपीलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइने जनाएको छ।
