Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ असार १९ गते शुक्रबार

“भोट गरिबको, बजेट मध्यम वर्गको ?” ✍️ डा. नहकुल

बजेट केवल सरकारको वार्षिक आय व्ययको विवरण होइन, यो राज्यले कसलाई प्राथमिकता दिन्छ, कसलाई अवसर दिन्छ र विकासको लाभ कसरी वितरण गर्न खोज्छ भन्ने राजनीतिक दस्तावेज पनि हो । त्यसैले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई केवल राजस्व, खर्च. वजेट बिनियोजन र घाटाको दृष्टिकोणबाट मात्र होइन, राजनीतिक अर्थशास्त्रको दृष्टिकोणबाट पनि हेर्न आवश्यक छ ।

यस वर्षको बजेट सार्वजनिक भएसँगै एउटा महत्त्वपूर्ण बहस सुरु भएको छ । समर्थकहरूले यसलाई आर्थिक सुधार, निजीक्षेत्रको प्रवर्द्धन र उत्पादनमुखी अर्थतन्त्र निर्माणको सुरुवात भनेका छन् । आलोचकहरू भने यो बजेटले विपन्न गरिब नागरिकभन्दा मध्यम वर्ग र व्यवसायिक समुदायलाई बढी प्राथमिकता दिएको तर्क गर्छन् । वास्तवमा यो बजेट कसका लागि हो ? गरिबका लागि, मध्यम वर्गका लागि, कि लगानीकर्ता र उद्यमीका लागि ? यस प्रश्नको उत्तर खोज्न नेपालको गरिबी र राजनीति बीचको सम्बन्ध बुझ्न आवश्यक छ ।

यो लेखमा गरिबीको रेखाभन्दा माथि आउनका लागि सर्वप्रथम गरिबी निवारणका प्रयास सफल भएमा मात्र मध्यम वर्गमा जनता उक्लिन सक्दछन् भन्ने विषयलाई थप प्रस्ट पार्नु पनि उद्देश्य रहेको छ ।

नेपालमा गरिब को हुन भन्ने बुझ्न जरुरी छ : नेपालको सन्दर्भमा गरिबीलाई मुख्यतः दुई तरिकाले परिभाषित गरिन्छ :

आम्दानीमा आधारित गरिबी : 

आम्दानी वा उपभोगको न्यूनतम स्तरभन्दा तल जीवनयापन गर्ने व्यक्तिलाई गरिब मानिन्छ । नेपालमा राष्ट्रिय तथ्यांक कार्यालयले गरिबी रेखा निर्धारण गरी खाद्य तथा गैर-खाद्य आधारभूत आवश्यकताहरू पूरा गर्न आवश्यक न्यूनतम खर्चको आधारमा गरिबी मापन गर्दछ ।

आफ्नो तथा परिवारको न्यूनतम खाद्य, स्वास्थ्य, शिक्षा, आवास र अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न आवश्यक आय वा उपभोग खर्च नभएको व्यक्ति वा परिवारलाई आम्दानी आधारित गरिब मानिन्छ । हालको तथ्यांकअनुसार नेपालमा करिब २० प्रतिशतभन्दा बढी जनसंख्या राष्ट्रिय गरिबी रेखामुनि रहेको रहेका छन् । प्रदेशअनुसार यो तथ्यांक फरकफरक रहेको छ ।

बहुआयामिक गरिबी :

यो अवधारणाले शिक्षा, स्वास्थ्य र जीवनस्तरका विभिन्न सूचकहरूलाई समेट्छ । नेपालले राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र अक्सफोर्डली बहुआयामिक पद्धति प्रयोग गर्दै गरिबी मापन गर्दछ । यसमा मुख्यत शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवनस्तरका आधारभूत अवसर तथा सेवाहरूबाट वञ्चित व्यक्ति वा परिवारलाई बहुआयामिक रूपमा गरिब मानिन्छ ।

Extreme Banner
Shivam Cement Banner

नेपालको पछिल्लो बहुआयामिक गरिबी विश्लेषण अनुसार करिब १८ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा रहेको देखिन्छ । यद्यपि, प्रदेश, जातीय समूह र भौगोलिक क्षेत्रअनुसार ठूलो भिन्नता छ । नेपालमा गरिबी केवल आम्दानीको हिसाब किताब मात्र हैन, यो शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्तिमा पहुँच, सामाजिक शक्ति र अवसरको अभावसँग सम्बन्धित बहुआयामिक अवस्था हो । त्यसैले गरिबी न्यूनीकरणको अर्थ केवल आय वृद्धि होइन, नागरिकलाई सम्मानजनक जीवनका अवसरहरू उपलब्ध गराउनु पनि हो ।

बहुआयामिक गरिबी सूचक र २०८३ /०८४ बजेट विनियोजन :
आलोचकहरूले यो बजेट मध्यमवर्गीय देखियो भनिरहँदा, बजेटको आन्तरिक संरचनाले राष्ट्रिय योजना आयोगको २०२१ को बहुआयामिक सुचकहरूलाई गहिरोसँग प्राथमिकीकरण गरेको तथ्य उजागर हुन्छ । यसका तीन प्रमुख आयामहरूमा बजेटको विनियोजन स्पष्ट छ ।

क) स्वास्थ्य आयाम – सूचक: पोषण र बाल मृत्युदर
स्वास्थ्य क्षेत्रमा विनियोजित कुल १०१ अर्ब ९५ करोड र स्वास्थ्य बीमातर्फको १५ अर्बले सिधै स्वास्थ्य वञ्चितीकरणलाई प्रहार गर्दछ । विपन्न नागरिक उपचार र आमा सुरक्षाका लागि १३ अर्ब १५ करोड तथा बालबालिकाको क्यान्सरको निःशुल्क उपचारले गरिब परिवारलाई स्वास्थ्य खर्चकै कारण थप गरिब हुनबाट जोगाउँछ । दुर्गममा एयर एम्बुलेन्स र पोषण भत्ताको दोब्बर वृद्धिले एमपीआईको ‘पोषण’ र ‘बाल मृत्युदर’ सूचकमा नेपालको अंक सुधार्न मद्दत गर्दछ ।

ख) शिक्षा आयाम – सूचक: विद्यालय भर्ना र टिकाउ दर
शिक्षा क्षेत्रमा २१८ अर्ब ३० करोडको ठूलो विनियोजन छ । लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड छुट्याइएको छ । विशेषगरी मानव विकास सूचकांकमा पछाडि परेका समुदायका लागि आवासीय विद्यालय सञ्चालन गर्ने नीतिअन्तर्गत चितवनको चेपाङ समुदायबाट गरिने सुरुवातले एमपीआईको ‘विद्यालय हाजिरी’ र ‘भर्ना’ को दर बढाउन प्रत्यक्ष योगदान गर्दछ ।

ग) जीवनस्तर आयाम – सूचक: खानेपानी, इन्धन, र आवास
बजेटले जीवनस्तर सूचकअन्तर्गतका महत्त्वपूर्ण अवयवहरूमा आक्रामक सुधारको लक्ष्य राखेको छ:
· स्वच्छ खानेपानी र सरसफाइ : खानेपानी तथा सरसफाइतर्फ ३७ अर्ब १७ करोड विनियोजन गरिएको छ । पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ पानी पुर्‍याउने र तराईमा आर्सेनिकमुक्त अभियान तथा २८० अधुरा आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड छुट्याइएको छ, जसले एमपीआई को खानेपानी र सरसफाइ सूचकलाई प्रत्यक्ष सम्बोधन गर्दछ ।

· खाना पकाउने इन्धन र विद्युतीकरण : विद्युत् उत्पादन र प्रसारणतर्फ ८५ अर्ब ५४ करोड विनियोजन गरी राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरण तीव्र पारिनेछ । २ लाख ९७ हजार सुधारिएको चुलो जडान गर्ने लक्ष्यले ग्रामीण महिलाहरूलाई आधुनिक इन्धनको पहुँच दिई एमपीआईको ‘इन्धन’ सूचकको वञ्चितीकरण हटाउँछ ।

· सुरक्षित आवास र भुइँ : भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन यसै वर्ष सक्ने र झापामा १०० वटा नमुना आवास गृह निर्माण गर्ने घोषणाले एमपीआईको ‘आवास’ सूचकमा सुधार ल्याउँछ ।

गरिबी किन नेपालमा राजनीतिक विषय हो ?
नेपालमा गरिबी केवल आयको अभाव होइन । यो शक्ति, पहुँच, अवसर, प्रतिनिधित्व र राज्यसँगको सम्बन्धको प्रश्न पनि हो । विगत सात दशकदेखि नेपालका राजनीतिक दलहरूले गरिब, किसान, मजदुर, दलित, महिला र सीमान्तकृत समुदायको नाममा राजनीति गर्दै आएका छन् । निर्वाचनका बेला गरिबी अन्त्य, सामाजिक न्याय र समावेशी विकासका नारा दोहोरिने गरेका छन् । तर, विडम्बना के छ भने गरिबी राजनीतिक भाषणको केन्द्रमा भए पनि यसको संरचनात्मक समाधान अपेक्षाकृत कमजोर रह्यो ।

राजनीतिक अर्थशास्त्रमा एउटा अवधारणा छ– ‘गरिबी स्वयं राजनीतिक पुँजी बन्ने अवस्था’ । जब गरिबीको समाधानभन्दा गरिबीको प्रतिनिधित्व राजनीतिक रूपमा बढी लाभदायक हुन्छ, तब राज्यले उत्पादनशील अवसर सिर्जना गर्नेभन्दा वितरणमुखी कार्यक्रम विस्तार गर्न रुचाउँछ । नेपालमा विभिन्न प्रकारका अनुदान, राहत र सामाजिक सुरक्षा कार्यक्रम विस्तार भए पनि गुणस्तरीय शिक्षा, रोजगारी, भूमि सुधार, सुकुम्बासी तथा उत्पादनशील सम्पत्तिमा पहुँच विस्तार अपेक्षित रूपमा हुन नसक्नु यही संरचनात्मक समस्याको संकेत हो ।

वर्तमान बजेटले के नयाँ संकेत दिएको छ ?
आर्थिक वर्ष २०८३/८४ को बजेटले विगतका बजेटहरूको तुलनामा फरक राजनीतिक सन्देश दिएको छ । बजेटको केन्द्रमा कर सुधार, लगानी प्रवर्द्धन, निजीक्षेत्रको विस्तार, स्टार्टअप, डिजिटल अर्थतन्त्र, कृत्रिम बौद्धिकता, ऊर्जा तथा पूर्वाधार विकास रहेका छन् ।

बजेटले स्पष्ट रूपमा मध्यम वर्गको विस्तारलाई आर्थिक विकासको आधारका रूपमा प्रस्तुत गरेको छ । यसले एउटा नयाँ आर्थिक सोचलाई प्रतिविम्बित गर्छ—गरिबीलाई प्रत्यक्ष भत्ताबाट होइन, आर्थिक वृद्धि र अवसर विस्तारमार्फत घटाउने प्रयास । यद्यपि, बजेटले सामाजिक सुरक्षालाई पूर्ण रूपमा बेवास्ता गरेको छैन । दलित बालबालिकाको पोषण भत्ता दोब्बर गरिएको छ, स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने घोषणा गरिएको छ, श्रमिक सामाजिक सुरक्षा र कृषि सहायता कार्यक्रमलाई निरन्तरता दिइएको छ । तर, समग्र बजेटको दर्शन स्पष्ट रूपमा उत्पादन, लगानी र मध्यम वर्गको विस्तारतर्फ उन्मुख देखिन्छ ।

सरकारले गरिबी अन्त्यभन्दा मध्यम वर्ग विस्तारलाई किन प्राथमिकता दिन्छ ?
यहाँ मध्यम वर्ग भन्नाले कसलाई भन्ने बुझ्न जरुरी छ : नेपालमा मध्यम वर्ग भन्नाले नियमित आम्दानी हुने, आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सक्ने, छोराछोरीको शिक्षा, स्वास्थ्य, घरभाडा वा बैंक ऋण, यातायातजस्ता खर्च धान्ने तर धेरै धनी नभएको समूहलाई जनाइन्छ । यस्ता परिवारले केही बचत गर्न सक्छन्, तर आर्थिक संकट वा महँगी बढ्दा सबैभन्दा छिटो असर पनि यही वर्गमा पर्दछ । नेपालमा मध्यम वर्गको स्पष्ट सरकारी परिभाषा छैन, तर अर्थशास्त्रीहरूले मासिक आय, खर्च, बचत क्षमता र जीवनशैलीका आधारमा मूल्यांकन गर्ने गर्छन् । सामान्यतया शहरी क्षेत्रमा मासिक ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गर्ने परिवारलाई मध्यम वर्ग मानिन्छ ।

नेताहरूले ‘मध्यम वर्ग मारमा पर्‍यो’ भन्नु पनि यही कर तिर्ने, बैंक ऋण बोकेको, निजी शिक्षा र घरजग्गाको भार बोकिरहेको समूहलाई संकेत गर्नु हो । राजनीतिक अर्थशास्त्रको दृष्टिकोणबाट हेर्दा वर्तमान सरकारले गरिबी अन्त्यभन्दा मध्यम वर्ग विस्तारलाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ ।

पहिलो, मध्यम वर्ग आर्थिक वृद्धिको प्रमुख चालक हो । मध्यम वर्गसँग उपभोग गर्ने क्षमता हुन्छ, कर तिर्ने क्षमता हुन्छ, बैंकिङ प्रणालीमा सहभागिता हुन्छ र निजीक्षेत्रको विस्तारलाई सहयोग गर्ने क्षमता हुन्छ । मध्यम वर्ग विस्तार हुँदा बजार विस्तार हुन्छ, लगानी बढ्छ र आर्थिक गतिविधि तीव्र हुन्छ ।

दोस्रो, मध्यम वर्ग राजनीतिक रूपमा प्रभावशाली समूह हो । यही वर्गले सार्वजनिक बहस निर्माण गर्छ, सामाजिक सञ्जालमा मत निर्माण गर्दछ र निर्वाचन परिणामलाई प्रभाव पार्न सक्छ । आधुनिक लोकतन्त्रमा मध्यम वर्ग राजनीतिक स्थायित्वको आधार मानिन्छ ।

तेस्रो, गरिबी अन्त्य गर्नु अत्यन्त जटिल र दीर्घकालीन प्रक्रिया हो । यसका लागि भूमि सुधार, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सामाजिक न्याय, रोजगारी सिर्जना र उत्पादनशील सम्पत्तिमा पहुँच आवश्यक हुन्छ । यस्ता सुधारहरूले शक्तिशाली हित समूहहरूको प्रतिरोध सामना गर्न सक्छन् । हालको बलियो सरकारबाट यो अपेक्षा धेरै हदसम्म गरिएको छ ।

आव २०८३/०८४ बजेटबाट को लाभान्वित हुन्छन् ?
यस बजेटबाट सबैभन्दा प्रत्यक्ष लाभ शहरी मध्यम वर्गले प्राप्त गर्ने देखिन्छ । आयकर छुटको सीमा दोब्बर वृद्धि, व्यक्तिगत आयकर दर घटाइनु, डिजिटल कारोबारमा प्रोत्साहन तथा वित्तीय बजार सुधारका कार्यक्रमहरूले औपचारिक क्षेत्रका कर्मचारी, व्यवसायी, पेशाकर्मी र शहरी परिवारलाई राहत प्रदान गरेका छन् ।

दोस्रो लाभान्वित समूह निजीक्षेत्र र उद्यमीहरू हुन् । लगानी प्रक्रिया सरलीकरण, उद्योगका लागि कर र भन्सार सुधार, स्टार्टअप प्रोत्साहन तथा वैदेशिक लगानीमैत्री वातावरणले व्यवसायिक समुदायलाई सकारात्मक संकेत दिएको छ । तेस्रो लाभान्वित समूह व्यावसायिक कृषि र उद्यमशीलतामा प्रवेश गर्न सक्ने किसान तथा लगानीकर्ता हुन् ।

के विपन्न गरिब पछाडी पर्ने जोखिममा छन् ?
बाल पोषण भत्तामा ऐतिहासिक वृद्धिले देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक एक हजार रुपैयाँ पुर्‍याइएको छ । मधेश, कर्णाली र सुदूरपश्चिम जस्ता उच्च आय गरिबी भएका २५ जिल्लाका बालबालिकालाई यसमा निरन्तरता दिइएको छ, जसले न्यून आय भएका परिवारको उपभोग क्षमता बढाउँछ ।

नेपालका अधिकांश गरिब आयकर तिर्ने वर्गमा पर्दैनन् । उनीहरूसँग पर्याप्त सम्पत्ति छैन, बचत छैन र औपचारिक रोजगारी छैन । त्यसैले आयकर छुट वा पुँजी बजार सुधारका लाभ उनीहरूलाई प्रत्यक्ष रूपमा पुग्दैनन् । कर्णाली, मधेश र सुदूरपश्चिमका ग्रामीण समुदाय, भूमिहीन किसान, अनौपचारिक श्रमिक, दलित तथा सीमान्तकृत समुदायका लागि मुख्य आवश्यकता अझै पनि रोजगारी, खाद्य सुरक्षा, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सिँचाइ र आधारभूत पूर्वाधार नै हो । यदि आर्थिक वृद्धिबाट सिर्जित अवसरमा पहुँच मुख्यतः शहरी, शिक्षित र पुँजी भएको समूहमा सीमित रह्यो भने असमानता झन् बढ्न सक्छ ।

सामाजिक सुरक्षा : राहत कि रूपान्तरण ?
बजेटले सामाजिक सुरक्षा प्रणालीलाई थप लक्षित र न्यायोचित बनाउने प्रयास गरेको छ । ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियानले सामाजिक सुरक्षालाई वास्तविक लाभग्राहीसम्म केन्द्रित गर्ने संकेत दिएको छ । तर, यहाँ अर्को महत्त्वपूर्ण प्रश्न उठ्छ— के सामाजिक सुरक्षा केवल राहत दिने साधन हो, कि गरिबीबाट बाहिर निकाल्ने माध्यम ? बजेटले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूका लागि कुल १ सय २० अर्ब सामाजिक सुरक्षातर्फ विनियोजन गरेको छ । यसले त्रिनामुल तहका गरिब परिवारमा सिधै नगद प्रवाह गराई उनीहरूको न्यूनतम आय गरिबीको खाडललाई पुर्न मद्दत गर्दछ ।

सामाजिक सुरक्षा कार्यक्रमले तत्काल राहत दिन सक्छ । तर, स्थायी गरिबी न्यूनीकरणका लागि शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र उत्पादनशील सम्पत्तिमा पहुँच आवश्यक हुन्छ । केवल भत्ता वितरणले गरिबी व्यवस्थापन गर्न सक्छ, तर अवसरको विस्तारले मात्र गरिबी अन्त्य गर्न सक्छ ।

राजनीतिक जोखिम र चुनौती
वर्तमान बजेटले आर्थिक वृद्धि ७ प्रतिशत र निजीक्षेत्रलाई केन्द्रमा राखेको छ । यदि आगामी केही वर्षभित्र यसबाट रोजगारी, आय वृद्धि र सेवा सुधारको अनुभव नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्न सके भने यो नीति सफल हुन सक्दछ । तर, यदि आर्थिक वृद्धिको लाभ सीमित वर्गमा केन्द्रित भयो र गरिब तथा सीमान्तकृत समुदायको जीवनस्तरमा उल्लेखनीय सुधार आएन भने सामाजिक असन्तोष र राजनीतिक ध्रुवीकरण बढ्न सक्छ । नेपालको लोकतन्त्रको सफलता केवल आर्थिक वृद्धि दरमा निर्भर गर्दैन, त्यो वृद्धि कति समावेशी छ भन्नेमा निर्भर गर्दछ ।

‘बिग पुस’ र ‘बिग हिट’: गरिबी न्यूनीकरणको नयाँ मार्ग कि पुरानो बहसको पुनरावृत्ति ?
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दा नेपालको अर्थतन्त्रलाई गति दिन ‘बिग पुस’ र प्रणालीगत सुधारलाई तीव्र बनाउन ‘बिग हिट’ आवश्यक रहेको तर्क बारम्बार गरेका छन् । यसको मूल अवधारणा राज्य, निजीक्षेत्र र लगानीकर्ताबीचको सहकार्यबाट ठूलो स्तरको आर्थिक गतिविधि सिर्जना गर्दै लगानी, उत्पादन र रोजगारीमा एकैपटक उछाल ल्याउने हो ।

राजनीतिक अर्थशास्त्रको दृष्टिले हेर्दा यो दृष्टिकोण गरिबी न्यूनीकरणलाई प्रत्यक्ष नगद हस्तान्तरण वा अनुदानभन्दा आर्थिक वृद्धिमार्फत सम्बोधन गर्ने रणनीतिसँग जोडिएको छ । तर, आलोचकहरूको प्रश्न फरक छ, के आर्थिक वृद्धिको यो ठूलो धक्का स्वतः गरिबसम्म पुग्दछ ? यसको जवाफ र वर्तमान बजेट विनियोजनको अंक हेर्दा यसले गरिबी न्यूनीकरणमा ठूलो धक्का दिन सक्दैन ।

नेपालको सन्दर्भमा गरिबीको ठूलो हिस्सा भूमिहीन किसान, अनौपचारिक श्रमिक, दलित, मुक्त कमैया, कम्लहरी, मुसहर, वादी, नटुवा, चेपांग र महिला जस्ता समुदायहरू मधेश तथा दुर्गम क्षेत्रमा केन्द्रित छन् । यस्ता समुदायसँग नयाँ आर्थिक अवसर उपयोग गर्न आवश्यक प्रारम्भिक सम्पत्ति वा क्षमता नहुन सक्दछ । आर्थिक समावेशीकरण सुनिश्चित नगरे असमानता पनि बढाउन सक्दछ ।

त्यस्तै, ‘बिग हिट’ ठूलो धक्काको अवधारणाले प्रशासनिक जडता, संस्थागत कब्जा, नीति अवरोध र अकर्मण्यतालाई तोड्ने सकारात्मक उद्देश्य बोकेको छ । तर, सुधारको दबाब कमजोर वर्गमाथि बढी र शक्तिशाली हित समूहहरूमा कम परेमा यसको राजनीतिक वैधता कमजोर हुन सक्छ । गरिबी न्यूनीकरणको दृष्टिले वास्तविक प्रश्न कति ठूलो लगानी भयो ? भन्दा पनि त्यसको लाभ कसले पायो ? भन्ने हो ।

त्यसैले ‘बिग पुस’ सफल हुनका लागि आर्थिक वृद्धि र सामाजिक न्यायबीचको पुल निर्माण गर्नुपर्छ, अन्यथा यसले मध्यम वर्ग र लगानीकर्ताको विस्तार त गर्न सक्दछ तर, गरिबीको संरचनात्मक चक्र तोड्न सक्दैन ।

निष्कर्ष :
आर्थिक वर्ष २०८३/८४ को बजेटलाई ‘गरिबमुखी’ वा ‘मध्यम वर्गमुखी’ भन्ने सरल वर्गीकरणले मात्र यसको सार बुझ्न सकिँदैन । यो बजेटको मूल दर्शन आर्थिक वृद्धि, निजीक्षेत्रको विस्तार, उद्यमशीलता र मध्यम वर्गको सुदृढीकरण हो । तर, त्यससँगै सामाजिक सुरक्षा र मानव विकासका केही महत्त्वपूर्ण हस्तक्षेपहरू पनि समावेश छन् ।

राजनीतिक अर्थशास्त्रको दृष्टिले हेर्दा यो बजेटले ‘गरिबी व्यवस्थापन’बाट ‘अवसर निर्माण’तर्फको नीति परिवर्तनको संकेत गरेको छ । तर, नेपालको वास्तविक चुनौती गरिबीलाई व्यवस्थापन गर्नु होइन, विपन्न नागरिकहरूलाई उत्पादनशील, आत्मनिर्भर र सम्मानित मध्यम वर्गमा रूपान्तरण गर्नु हो ।अन्ततः कुनै पनि बजेटको सफलता राजस्व संकलन, शेयर बजार वा आर्थिक वृद्धिदरले मात्र मापन हुँदैन । त्यसको वास्तविक मूल्यांकन तब हुन्छ जब सबैभन्दा पछाडि परेको नागरिकले आफ्नो जीवनमा परिवर्तन महसुस गर्न थाल्छन । नेपालको विकास यात्रामा रास्वपाको अन्तिम परीक्षा पनि त्यही हो ।(नहकुल केसी बहुआयामिक गरिबीमा विद्यावारीधी हुन् । राजनीतिक अर्थशास्त्र, सार्वजनिक नीतिका विषयमा कलम चलाउँछन् ।)

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.