कैलाली । सातै प्रदेशमा ठूला चुनावी सभा आयोजना गर्ने तयारीमा रहेको नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा तय गरिएको आमसभा अन्तिम समयमा स्थगित गरेको छ।

भोलि कर्णालीको सुर्खेत र लुम्बिनीको नेपालगन्जमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्न सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायतका केन्द्रीय नेता सहभागी हुने कार्यक्रम छ। उनीहरू त्यही दिन सुदूरपश्चिम पनि आउने तयारी थियो। तर, देउवा पक्षको उपस्थिति नहुने संकेत पाएपछि कार्यक्रम स्थगित गरिएको स्रोतले जनाएको छ।
पछिल्लो समय कांग्रेसभित्र शेरबहादुर देउवालाई अलग राखेर गतिविधि भइरहेको आरोप सुदूरपश्चिममा उठ्दै आएको छ। त्यसको प्रभाव आमसभा तयारीमा समेत देखिएको बताइएको छ।
कांग्रेस स्रोतका अनुसार कैलालीको अत्तरिया वा धनगढीमा प्रदेश समितिको आयोजनामा सभा गर्ने तयारी थियो। तर, देउवा विनाको कार्यक्रम गर्न प्रदेश पदाधिकारीहरू सहमत नभएपछि सभा रोकिएको हो। प्रदेश नेतृत्वले देउवाको पनि उपस्थिति सुनिश्चित गर्न चाहेको तर केन्द्रले समन्वय गर्न नसकेको बताइएको छ।
दुई दिनअघि कैलाली क्षेत्र नम्बर २ का नेता–कार्यकर्तासँग केन्द्रीय सदस्य हिमबहादुर रावलले १४ गते गगन थापा आउने जानकारी गराएका थिए। सो बैठकमा उपस्थित मुख्यमन्त्री कमल बहादुर शाह भने यस विषयमा अनभिज्ञ देखिएका थिए। उनले सभापति आउने कार्यक्रममा सकारात्मक सन्देश जानुपर्ने र विभाजनको संकेत देखिए सभा नहुने धारणा राखेको स्रोतले जनाएको छ।
एकपक्षीय देखिने कार्यक्रम भए आफू उपस्थित नहुने संकेत मुख्यमन्त्रीले दिएको पनि ती नेताले बताए।
अत्तरियामा सभा गर्ने योजना अन्तर्गत उम्मेदवारहरूसँग आर्थिक सहयोगबारे छलफलसमेत भएको थियो। कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर विष्टले आफ्नै क्षेत्रमा कार्यक्रम भए दुई लाख र अन्यत्र भए एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तर, पार्टीभित्र एकता नदेखिएपछि कार्यक्रम रोकिएको हो।
रावलले भने समय अभावका कारण कार्यक्रम स्थगित गरिएको दाबी गरे। “भोलि दुई ठाउँमा कार्यक्रम सकेर यहाँ आउने योजना थियो, तर समय नमिल्ने भएपछि रोकिएको हो,” उनले भने।
केन्द्रीय समितिले प्रदेश समितिलाई तयारी अघि बढाउन भने पनि प्रदेश सभापति वीरबहादुर बलायरले तत्काल सम्भव नभएको बताएका थिए। त्यसपछि जिल्ला स्तरबाट आयोजनाको विकल्प खोजिए पनि जिल्ला सभापति नारायणदत्त भट्टले पनि खासै चासो नदेखाएको स्रोतको भनाइ छ।
बलायर र भट्ट दुवै देउवा निकट मानिन्छन्। प्रदेश र जिल्ला नेतृत्वबाट सकारात्मक संकेत नआएपछि कार्यक्रम अनिश्चित बनेको हो। जिल्ला सभापति भट्टले भने उम्मेदवारहरूको समय अभावका कारण सभा नहुने बताएका छन्।
सुदूरपश्चिममा देउवा पक्षका नेता–कार्यकर्ताहरूले देउवालाई केन्द्रीय समितिबाट बेवास्ता गरिएको आरोप लगाउँदै आएका छन्। प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा विशेष महाधिवेशन पक्षधरले टिकट पाएको बताइन्छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व गृहमन्त्री रमेश लेखक चुनाव लड्ने इच्छा व्यक्त गर्दा पनि अवसर नपाएको चर्चा छ। कैलाली–४ मा टिकट पाएका प्रदेश सभापति बलायरले अन्तिम समयमा टिकट फिर्ता गरेका थिए।
देउवा र उनका निकटकालाई टिकट नदिएको विषयले सुदूरपश्चिम कांग्रेसभित्र मतभेद बढेको देखिन्छ। यस्तो अवस्थामा गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुने तर देउवा अनुपस्थित रहने कार्यक्रमले थप असन्तोष बढाउने आशंका गरिएको थियो।
यसबीच निवर्तमान सभापति देउवाले पार्टीका गतिविधिमा सहभागी नहुने र डडेल्धुरामा मत दिनसमेत नआउने संकेत दिएको चर्चा छ। यसले प्रदेशको निर्वाचन परिणाममा प्रभाव पार्न सक्ने विश्लेषण पनि भइरहेको छ।
