Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ जेष्ठ २२ गते शुक्रबार

बयान फेर्न लगाएर जेलबाट छुटेलगत्तै फेरि बलात्कार

बलात्कृत युवतीलाई आर्थिक प्रलोभनमा बयान फेर्न लगाई जेलबाट छुटेका नेपाल प्रहरीका पूर्वजवान भूपेन्द्रसिंह ठगुन्नाले उनै युवतीलाई फेरि बलात्कार गरेका छन् । युवतीको अहिले आठ महिनाको गर्भ छ । दार्चुलाको नौगाड गाउँपालिका– २, सुन्डमुन्डका २६ वर्षीय ठगुन्नालाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरेर ल्याएको छ ।

प्रहरीका अनुसार ठगुन्नाले गत जेठमा सुर्खेतको वीरेन्द्रनगरमा जाजरकोटकी २५ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेका थिए । त्यसअघि उनै युवतीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा १ वैशाखमा पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, युवतीलाई बयान फेर्न लगाएर दुई लाख ५० हजार क्षतिपूर्ति भुक्तानीपछि ठगुन्ना जेलबाट निस्किएका थिए । त्यसपछि उनले फेरि उनै युवतीलाई बलात्कार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शाहीले जबर्जस्ती करणी मुद्दामा नेपाल प्रहरीको पूर्वजवान पक्राउ परेको बताए । उनले भने, ‘युवतीलाई करणी गरेको अभियोगमा नेपाल प्रहरीका पूर्वजवान पक्राउ परेका छन् । मिलापत्र भइसकेपछि युवतीलाई पटक–पटक जबर्जस्ती करणी गरेको देखिन्छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरेका छौँ ।’ प्रहरीका अनुसार युवती अहिले आठ महिनाकी गर्भवती छिन् । प्रहरी जवान ठगुन्ना घटनापछि सेवाबाट अलग भएका थिए । एकाएक फरार रहेका उनलाई प्रहरीले खोजी गरिरहेको थियो । उनी भारतको मुम्बई रहेको सूचनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । सोही क्रममा उनलाई पक्राउ गरेर ल्याएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबर्जस्ती करणीमा संलग्न नेपाल प्रहरीका पूर्वजवान पक्राउ परेको बताए । ‘युवती बलात्कार गरेको अभियोगमा ठगुन्नाविरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको थियो । सोही आधारमा प्रहरी खोजीमा थियो । उनलाई पक्राउ गरेका छौँ । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ । उनी नेपाल प्रहरीको पूर्वजवान रहेको जानकारीमा आएको छ,’ उनले भने ।

प्रहरीका अनुसार जबर्जस्ती बयान फेर्न लगाएर जेलबाट निस्केका ठगुन्नाले फेरि बलात्कार गरेपछि युवतीले गत साउनमा जिप्रका सुर्खेतमा जाहेरी दिएकी थिइन् । जेलबाट निस्केलगत्तै ठगुन्ना सेवामा जोडिएका थिए । पछिल्लोपटक उनलाई सर्वोच्च अदालतमा सरुवा गरिएको थियो । त्यहाँबाट पनि ताप्लेजुङ सरुवा भएपछि उनी कार्यालय जान छाडेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई सेवाबाट बर्खास्त गरेको थियो । उता जिप्रका सुर्खेतमा उनीविरुद्ध जबर्जस्ती करणी कसुरमा जाहेरी दर्ता भएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी मुम्बई पुगेका थिए । युवती भने न्याय माग्दै काठमाडौं आएकी थिइन् ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.