Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ जेष्ठ २२ गते शुक्रबार

बलुचिस्तानमा पाकिस्तानी सुरक्षाकर्मी र पृथकतावादी लडाकूबीच भीषण भिडन्त, कम्तिमा १२५ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तका विभिन्न सहरमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकूबीच भिडन्त हुँदा कम्तिमा १२५ जनाको मृत्यु भएको छ।

पाकिस्तानी सेनाले शनिबार विज्ञप्ती जारी गर्दै बलुचिस्तानमा सुरक्षा कारबाही क्रममा कम्तिमा ९२ जना लडाकू मारिएको जनाएको छ।

विज्ञप्तीअनुसार १५ जना सुरक्षाकर्मी र १८ जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ।

इरान र अफगानिस्तानसँग सीमा जोडिएको बलुचिस्तानमा दशकौंदेखि पृथकतावादी विद्रोह जारी छ।

शनिबारका आक्रमणको जिम्मेवारी प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ।

समूहले प्रान्तभर एकैसाथ आक्रमण गरिएको र १५ घण्टासम्म चलेको कारबाहीमा ८४ जना पाकिस्तानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा आइएसपीआरले भने आक्रमण भारत प्रायोजित लडाकुबाट गरिएको दाबी गर्दै कुनै पनि सहर वा रणनीतिक स्थल नियन्त्रणमा लिन खोजिएको प्रयास असफल पारिएको जनाएको छ।

Laxmi bank

‘घटनाभर बाहिरबाट सञ्चालन गरिएका आतंककारी नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा रहेर आक्रमण गरिएको स्पष्ट गुप्तचर प्रमाणले पुष्टि भएको छ,’ विज्ञप्ती उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

आक्रमणहरू क्वेटा, मस्तुङ, नोष्की, दलबन्दिन, खारान, पञ्जगुर, तुम्प, ग्वादर र पास्नी क्षेत्रमा भएका थिए।

Ncell

आन्तरिक मामिलामन्त्री मोहसिन नक्भीले आक्रमणको निन्दा गर्दै सुरक्षा बलले प्रभावकारी रूपमा प्रतिकार गरेको बताएका छन्।

ग्वादरमा प्रवासी कामदार बसोबास गर्ने क्याम्पमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकमध्ये पाँच पुरुष, तीन महिला र तीन बालबालिका रहेका छन्। घटनापछि सुरक्षा बलले ग्वादरमै ६ जना लडाकुलाई मारिएको बताइएको छ।

अधिकारीहरूका अनुसार नोष्की जिल्लामा स्थिति गम्भीर बनेको छ। जहाँ लडाकुले जिल्लाका शीर्ष प्रशासकलाई अपहरण गरेको भनेर पाकिस्तानी अखबार डनले लेखेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनी लडाकुको नियन्त्रणमा रहेको देखिएको भनिएको छ।

क्वेटाका केही क्षेत्रमा सशस्त्र समूहले अस्थायी रूपमा सडक अवरुद्ध गरेको र उच्च सुरक्षा क्षेत्र नजिक विस्फोटको आवाज सुनिएको भए पनि पछि स्थिति नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। केही जिल्लाका अस्पताललाई आपतकालीन अवस्थामा राखिएको छ।

पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय बलुच समूहद्वारा दशकौंदेखि विद्रोह हुँदै आएको छ। पाकिस्तानले यस हिंसामा विदेशी पक्षको समर्थन रहेको आरोप लगाउँदै आएको छ, जसलाई भारतले अस्वीकार गर्दै आएको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.