तुलसीपुर, २५। राप्ती राजमार्गअन्र्तगत दाङको तुलसीपुर– कपुरकोट जोड्ने सडकखण्डको स्तरउन्नती गर्दा दुर्घटनाको जोेखिम बढेको छ । विशेषगरी यसबाट बैकल्पीक सडकअन्र्तगत पर्ने पैयाखोरे सातबास हुदै कपुरकोट जोड्ने अर्को सडकमा यात्रा गर्नेहरुलाई त्रास सृजना भएको छ भने आपपासका स्थानिय बासिन्दासमेत यसको जोखिममा परेका छन् । केहीदिन अगाडी मात्रै राप्ती राजमार्गको काम गर्ने मेसिनले खसालेको ढुंगाले लागेर एउटा बाख्रा मरेको थियो भने हिजो मात्रै एकजना घाइते भएका छन् । माथीबाट खसेको ढुंगाले लागेर सोही सडकको काम गर्ने जिम्मा पाएको पिके निर्माण सेवाका ट्याक्टर चालक दाङको घोराही–७ का ३० बर्षीय राजन चौधरी गम्भिर घाइते भएका हुन् । उनको खुट्टामा गहिरो चोट लागेको छ । यसरी लापरबाही तरिकाले काम गर्दा आफ्नो जिउ ज्यान नै धरापमा राखेर यात्रा गर्नु परेको तुलसीपुर–३ को साजबास निवासी मिलन घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार माथीको सडकबाट ढुंगा खसिरहेको अवस्थामा तलको सडकबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

अहिले सोही कारणले बाख्रा मर्नु र मानिस घाइते हुनुलाई सामान्य रुपमा लिन नसकिने भन्दै उहाँले यसतर्फ गम्भिर बन्न आवश्यक रहेको बताउनुभयो । यता सडकको काम गरिरहेको पिके निर्माण सेवाका प्रतिनिधि प्रेम भण्डारीले भने आफुले सडक डिभिजन कार्यालयलाई सडक बन्द गर्न अनुरोध गरेपनी सुनुवाई नभएको बताउनुभयो । सडक सञ्चालन भइरहेको अवस्थामा काम गर्नुपर्ने बाध्यता भएकाले जोखिम बढेको उहाँको भनाई छ । यसले गर्दा काममा पनि ढिलाई भइरहेको र जोखिम पनि उत्तिकै रहेको भन्दै उहाँले सडक बन्द गरेर काम गर्ने हो भने दुई हप्तामा जोखिम हट्ने दाबी गर्नुभएको छ । यही अनुसार काम गर्दा दुई बर्षमा पनि सम्पन्न हुन कठिन हुने उहाँको भनाई छ । यता सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले यस बिषयमा सबै निकायसँग समन्वय भइरहेको बताउनुभएको छ । राष्ट्रिय राजमार्ग बन्द गर्नु सामान्य कुरा नभएको भन्दै उहाँले प्रशासन, यातायात व्यवसायी सबैसँग समन्वय गरेर छिट्टै यो समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।।
