दाङसहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । दिउँसो पनि बादल लाग्ने र पारिलो घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले बताएका छन् । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले धेरै ठाउँमा मौसम बदली हुनुका साथै तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पछिल्लो एक हप्तायता तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोले जनजीवनक कष्टकर बन्दै आएको छ । दिउँसो अबेरसम्म घाम नलाग्दा स्थानीयबासिन्दालाई घरबाहिर निस्कन समेत समस्या छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई क्षेत्रमा दिउँसोसम्म हुस्सु लाग्ने गरेको छ । पूर्वी तराईमा दिउँसो मौसम केही खुले पनि पारिलो घाम भने लागेको छैन । हुस्सु कुहिरोका कारण जनजीवन प्रभावित हुन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।।
