एनपिएलको पहिलो सिजनमा अन्तिममा रहेको लुम्बिनी लायन्स यसपालि अनपेक्षित नतिजा निकाल्दै च्याम्पियन
नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमा अन्तिममा परेको लुम्बिनी लायन्सले यसपालि उपाधि उचालेको छ । संयोग यस्तो भयो कि अघिल्लोपटक उपाधि जितेको जनकपुर बोल्ट्स यसपालि अन्तिममा परेको छ भने सुदूरपश्चिम रोयल्स फेरि पनि उपविजेतामै समेटिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि शनिबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो । लुम्बिनी च्याम्पियन मात्रै बनेन, फाइनलमा ह्याट्रिक विकेट लिएका कप्तान रोहितकुमार पौडेलले प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी बनेर करिब ६० लाख रुपैयाँ पर्ने कार र धेरै रन (२७६) बनाउने नेपाली खेलाडीका रूपमा पल्सर बाइक पनि जिते । उनले कारमा आमासहित परिवारलाई राखेर क्रिकेट मैदान परिक्रमा गराए । यति मात्रै होइन, लुम्बिनीकै स्पिनर शेर मल्लले पनि इमर्जिङ प्लेयर घोषित भएर मोटरसाइकल र दुई लाख जिते । उनले प्रतियोगितामा १७ विकेट लिएका थिए । एनपिएलमा मल्लको पनि रोचक संयोग यस्तो रह्यो, पहिलोपटक जनकपुर च्याम्पियन बन्दा उनी जनकपुरमै थिए ।
१ मंसिरबाट सुरु भएको प्रतियोगिताको सुरुवाती खेलमा कमजोर देखिएको लुम्बिनी पछिल्ला ६ खेलमा लगातार जित निकाल्दै फाइनलमा पुगेको थियो । यो यात्रामा लुम्बिनीले लिग चरणमा सानदार प्रदर्शन गरेका विराटनगर किंग्स र काठमाडौं गोर्खाजजस्ता टोलीलाई इलिमिनेटर र क्वालिफायर २ मा पराजित गरेको थियो ।
कप्तान पौडेलले उपाधि जित्ने सपना पूरा भएको बताए । ‘एनपिएल जित्ने सपना पूरा भएको छ, हामीले ठुलो उपलब्धि प्राप्त गरेका छौँ,’ रोहितले भने, ‘तीन खेल हारेपछि दबाब थियो, टिमको मिहिनेतले सफलता हात पारेका छौँ, आज मेरो दिन नै राम्रो रहेछ ।’
‘हाउस फुल’ त्रिवि मैदानमा टस जितेर सुरुमा ब्याटिङ रोजेको सुदूरपश्चिमले प्रतियोगिताकै कमजोर सुरुवात गर्यो । १९ ओभरमा सबै विकेट गुमाउँदा ८६ रनको मात्रै लक्ष्य दियो । टोलीको इनिङ्समा ठुलो साझेदारी हुनै पाएन । एनपिएल दोस्रो संस्करणमा कुनै पनि टोलीले कम स्कोर बनाएको यो नै पहिलो हो । प्रत्युत्तरमा लुम्बिनीले नौ ओभरमै खेल जित्यो । चार विकेट गुमाउँदै जित निकालेर च्याम्पियन बन्यो ।
च्याम्पियन लुम्बिनीले एक करोड १० लाख पाउँदा उपविजेता सुदूरपश्चिमले ५१ लाख पायो । प्रतियोगिताका मुख्य अतिथि सञ्चारमन्त्री जगदीश खरेल र क्यान अध्यक्ष चतुरबहादुर चन्दले रोहितलाई ट्रफी हस्तान्तरण गरे । तेस्रो बनेको विराटनगर किंग्सले २५ लाख तथा चौथो बनेको काठमाडौं गोर्खाजले १५ लाख पाए । प्रतियोगितामा पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्ट्स लिग चरणबाटै माथि बढ्न सकेनन् ।
विराटनगर किंग्सका कप्तान तथा मार्की सन्दीप लामिछाने प्रतियोगितामा सर्वोत्कृष्ट बलर बने । उनले मोटरसाइकल र दुई लाख पुरस्कार प्राप्त गरे । त्यस्तै, इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट चुनिँदै सुदूरपश्चिमका बलर अभिनाश बोहराले दुई लाख पाए । सन्दीप र अभिनाश दुवैले प्रतियोगितामा समान १७ वीकेट लिएका थिए ।
फाइनलमा दिनेशको जादुमयी ब्याटिङ
सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई ओपनर दिनेश अधिकारीको जादुमयी ब्याटिङले ४२ रन दिलायो । उनले १३ बलमा पाँच छक्का र एक चौका प्रहार गरे । पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई २७ रन हाने । त्यसपछि आएका अस्ट्रेलियन ब्याटर डार्सी सर्टले १३ बलमा १४ रन र कप्तान रोहितले १३ बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए ।
टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमको इनिङ्समा ओपनर ईशान पाण्डेले सर्वाधिक ३३ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन् । १६.३ ओभरसम्म क्रिजमा टिकेर ५१ बलमा एक चौका हिर्काएका ईशानलाई शेर मल्लले श्रीलंकन अलराउन्डर मोभिन सुवासिंघाबाट क्याच आउट गराएका थिए । त्यसबाहेक कप्तान ऐरीले २० बलमा १३, हर्मित सिंह र स्कट कुगुलेइनले पनि १० रन मात्रै बनाएर पेभिलियन फर्किएपछि सुदूरपश्चिम दबाबमा आएको थियो । यसअघि दुई अर्धशतक बनाएका विनोद भण्डारी डकआउट भएका थिए । लुम्बिनीका लागि रोहित, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले समान तीन विकेट लिए । ट्रम्पलम्यान प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी हुँदै पाँच लाख पाउन सफल भए ।

