बर्दिया
२२ मंसिर / बर्दियाको राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरिएको छ। शुक्रवार बिहान अचेत अवस्थामा फेला परेका चौधरीलाई तत्काल नेपालगन्जस्थित शिक्षण अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार निरजका गाला र दुवै कानमा गोली लागेको अवस्थामा भेटिएका थिए। घटनास्थलबाट गोलीका खोका समेत बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले बताए।
मृतक दाङ, तुलसीपुर नगरपालिका–५ निवासी निरज चौधरीलाई गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ। हाल पक्राउ भने हुन सकेको छैन।
निरजको शव पोष्टमार्टमका लागि नेपालगन्जमा राखिएको छ। पोष्टमार्टम रिर्पोटपछि घटनाबारे थप विवरण स्पष्ट हुने प्रहरीले जनाएको छ।
हत्या कसले र किन गरेको भन्ने यकिन नभएकाले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय राजापुरले घटनास्थलमै रहेर थप अनुसन्धान जारी राखेको छ।
