तुलसीपुर, २४ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाले आगामी मङ्सिर दोस्रो सातामै व्यापारिक महोत्सव लगाउन घरेलु तथा साना उद्योग महासंघ दाङलाई अनुमति प्रदान गरेपछि तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायी चिढिएका छन् । आफूहरूको अभिभावक तुलसीपुर उपमहानगरपालिका आफैँले पारित गरेको मेला महोत्सव व्यवस्थापन कार्यविधि–२०७९ को भावनाविपरीत भएको व्यवसायीले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको असोज ३० गते बसेको कार्यपालिका बैठकले मङ्सिर ११ देखि २८ गतेसम्म व्यापारिक मेला सञ्चालनको अनुमति दिएको छ । जुन अनुमतिलाई व्यवसायीले कार्यविधिविपरीत भनेका छन् । तुलसीपुरमा आयोजना हुने मेला महोत्सव प्रायः विवादित हुन थालेपछि तुलसीपुर उद्योग वाणिज्य संघलगायत व्यावसायिक संघसंस्थाको आग्रहपछि उपमहानगरपालिकाले मेला महोत्सव व्यवस्थापन कार्यविधि नगर सभाबाट पारित गरेको थियो । पारित भएको कार्यविधिमा पुस मसान्तपछि मात्र यस्ता व्यापारिक मेला महोत्सव आयोजना गर्ने उल्लेख भएको तुलसीपुरका एक जना फेन्सी व्यवसायीले बताएका छन् ।
जाडो यामको सुरुआतमै आयोजना हुने व्यापार मेलाबाट सबैभन्दा प्रभावित फेन्सी तथा जुत्ता व्यवसायी हुनेछन् । तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्रचोकस्थित शर्मा सपिङ सेन्टरका सञ्चालक रुपेश शर्मा भन्छन्, ‘यस्ता व्यापारिक मेला कम्तीमा हामीले जाडोका कपडा केही बिक्री गरेपछि आयोजना होऊन् भन्ने हो तर उपमहानगरपालिकाले जहिलै पनि व्यवसायीको भावना नबुझेरै मेला महोत्सव चलाउने अनुमति दिन्छ ।’
खास गरी यहाँ आयोजना हुने हरेक मेला महोत्सवमा फेन्सी व्यवसायी बढी प्रभावित हुने गरेको उनले बताए । फेन्सी व्यापार हुने भनेकै मङ्सिर÷पुस महिनामा हो । ‘यही बेला मेला महोत्सव आयोजनाको स्वीकृति नदिन हामीले हाम्रा अभिभावक तुलसीपुर उपमहानगरपालिकालाई अनुरोध गर्दै आयौँ तर उहाँहरूले हाम्रो अभिभावकत्व ग्रहण गर्न सधैँ इनकार गर्नुभयो’, शर्माले आक्रोश पोखे । आफूहरूलाइ आयोजकप्रति कुनै गुनासो नभएको रुपेशले बताए ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकाको ‘क’ लाइनमा व्यवसाय गर्ने न्यु बस्नेत सु सेन्टरका प्रोप्राइटर माधव बस्नेतले पनि यो मौसममा लगाइने मेला महोत्सवले आफू जस्ता व्यवसायी प्रत्यक्ष मारमा पर्ने बताए । ‘कम्तीमा पुसभरि हामीलाई व्यापार गर्न दिएर मेला स्वीकृति दिए हुन्थ्यो तर मेयर साबले हाम्रो गुनासो कहिलै सुन्नुभएन’, बस्नेतले भने ।
तुलसीपुर उपमहानगरपालिकाले जारी गरेको मेला महोत्सव व्यवस्थापन कार्यविधिको परीच्छेद २ मा मेला महोत्सव सञ्चालन अनुमति तथा नियमन समितिको व्यवस्था गरिएको छ । नगर प्रमुखको अध्यक्षतामा हुने समितिको उपाध्यक्षमा नगर उपप्रमुख र सदस्यमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक, तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर च्याम्बर अफ कमर्श, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय तथा मेला आयोजना हुने स्थान रहेको वडाको वडाध्यक्ष रहने व्यवस्था छ ।
मेला महोत्सवको स्वीकृति दिनुपूर्व समितिको बैठक बस्नुपर्ने भनिएको छ । मेला महोत्सवको आयोजनाका विषयमा समितिको बैठक बसेको भने आफूलाई थाहा नभएको समितिका उपाध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले बताइन् । ‘कार्यपालिकाबाट मेला आयोजना गर्न स्वीकृति दिने प्रस्ताव पास भएको हो तर समितिको बैठक बसेको मलाई थाहा छैन, मेयर साबलाई सोध्नुहोला’, उपप्रमुख चौधरीले भनिन् ।
समितिको बैठक नै नबसी नगर प्रमुखले कार्यपालिकाबाट मेला महोत्सवको स्वीकृति दिने प्रस्ताव पारित गराएको तुलसीपुर उद्योग वाणिज्य संघको भनाइ छ । ‘हामीलाई दुई कुरामा आपत्ति हो, पहिलो कुरा त समितिको बैठक नबसी मेला महोत्सवको स्वीकृति दिइयो, दोस्रो कुरा कार्यविधिको प्रस्तावना अनुसार पुस मसान्तपछि मात्र मेला महोत्सवको स्वीकृति दिनु उपयुक्त हुन्थ्यो’, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशव केसीले भने । गतिविधिले तुलसीपुर क्षेत्रमा आयोजना हुने मेला महोत्सव विवादित हुने गरेको उनले बताए ।
पोहोर सालै भा हो निर्णय : नगर प्रमुख खड्का
यो वर्ष तुलसीपुर उपमहानगरपालिकामा घरेलु तथा साना उद्योग महासंघलाई मेला महोत्सव आयोजनाको स्वीकृति दिने निर्णय गत वर्ष नै भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले दाबी गरेका छन् ।
‘हामीले यो वर्ष घरेलुलाई मेला महोत्सवको स्वीकृति दिने निर्णय गत साल नै गरेको माइन्युट हामीसँग छ, फेरि यो विषयमा किन बैठक बस्नु प¥यो भनेर कार्यपालिकाबाटै निर्णय गरेका छौँ’, प्रमुख खड्काले भने । समय मङ्सिरमै भयो भनेर विरोध गरिरहनुभन्दा उपयुक्त समयका लागि फेरि हामी व्यवसायी साथीहरूसँग बसेर उपयुक्त निर्णय लिने उनले बताए ।
‘अहिलै मेला त्यही मितिबाट सञ्चालन भइहाल्ने भन्ने अवस्था होइन, यसमा स्थानीय व्यवसायीहरूसँग सल्लाह गरेर उपयुक्त समय मिलाउन सकिन्छ’, प्रमुख खड्काले भने । उनले यहाँ आयोजना हुने हरेक मेला महोत्सवबाट स्थानीय व्यापारीलाई मर्का नपरोस् भनेर आयोजकलाई स्थानीय व्यवसायीलाई अधिक्तम सहुलियत दिएर मेला महोत्सवमा समेट्नुपर्ने आफ्नो स्पष्ट धारणा रहेको प्रमुख खड्काले बताए ।
‘यहाँका स्थानीय व्यवसायीलाई मारमा पार्ने गरी मेला महोत्सव हुनु हुँदैन, मेला महोत्सवमा राखिने स्टलमा स्थानीय व्यवसायीलाई थप प्रोत्साहन गर्न आयोजक सचेत हुनुपर्नेछ’, प्रमुख खड्काले भने । कति अवधिसम्म मेला लगाउन दिने भन्ने विषय कार्यविधि अनुसार हुने उनले बताए । ‘समयको विषयमा फेरि हामी बस्ने छौँ, यसलाई धेरै विवादित बनाउनु उपयुक्त होइन’, प्रमुख खड्काले भने ।
