तुलसीपुर, १८ कात्तिक । दाङमा लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पुर्वको भुमे गाउँपालिका–२ घर भई अहिले तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुर बस्दै आएका २३ बर्षीय निस्मत गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घोराही उप–महानगरपालिका–१४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उक्त होटेलको भुईतलाको १ नम्बर कोठामा शंकाष्पद अवस्थामा बसिरहेका उनलाई खानतलासी गर्दा ब्राउन सुगर १ ग्राम ४५० मिलिग्राम भेटिएपछी बरामद गरिएको प्रहरीले जनाएको छ । अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
