प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा पहिलो पत्रकार सम्मेलन गर्दै फागुन २१ का लागि घोषित चुनावदेखि राजनीतिक दलहरूसँग सुरू भएको संवाद र जेन-जी युवाहरूसँग काम गर्दाको अनुभवबारे बोलेकी छन्।

भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले आफू र मन्त्रिपरिषदका सबै सदस्य फागुन २१ को चुनाव निष्पक्ष र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्ने ‘अर्जुनदृष्टि’ का साथ काम गरिरहेको बताएकी छन्।
‘म र सरकारमा भएका सबै मन्त्री निश्चित मितिमा चुनाव सम्पन्न गर्न सफा हृदय लिएर काम गरिरहेका छौं,’ उनले भनिन्, ‘सरकारको मनसायलाई लिएर तपाईंहरू कसैले शंका नगरे हुन्छ।’
शपथग्रहणपछि आन्दोलनका घाइते र मृतकका परिवारसँग भेटघाट गरेर काम सुरू गरेको अन्तरिम सरकार त्यसयता निरन्तर चुनाव र सुशासनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनले बताइन्।
जेन-जी आन्दोलनको भावनाअनुसार आफू र मन्त्रिपरिषदका सदस्य कोही निर्वाचनको काममा र कोही सुशासनको काममा लागेको उनको भनाइ थियो।
करिब साढे दुई घन्टा चलेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘हाम्रो मुख्य उद्देश्य नै तोकिएको मितिमा चुनाव सम्पन्न गर्ने हो। यसका लागि मैले शपथग्रहण लिएदेखि निर्वाचन आयोगका आयुक्तहरूलाई भेटेर निरन्तर कुराकानी गरिरहेकी छु। अहिले आयोगमा मुख्य निर्वाचन आयुक्त हुनुहुन्न। त्यस सन्दर्भमा हामीले केही कुरा सोचेका छौं। तत्काल मुख्य निर्वाचन आयुक्त नियुक्त गर्न अहिलेको प्रणाली बाधक बनेको छ। त्यो प्रणाली अनुसार काम गर्दा धेरै समय लाग्छ। त्यसैले अहिले भइरहेका आयुक्त र केही विज्ञलाई ल्याउने हो कि भन्ने पनि हामीले सोचिरहेका छौं।’
कतिपय राजनीतिक दलले भदौ २४ गते प्रहरीबाट लुटिएका हतियार फिर्ता नभएको र जेलबाट कैदी-बन्दीहरू फरार भएको अवस्थामा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न सुरक्षा स्थिति प्रतिकूल रहेको टिप्पणी गरिरहेका छन्। यसबारे पनि प्रधानमन्त्री कार्कीले प्रस्टीकरण दिएकी छन्।
