आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहार। यमराजको दूतका रूपमा कागलाई आज बिहान मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ। सूर्योदय कालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज यो पर्व मनाइएको हो।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खानेकुरा दिई खुशी पार्ने चलन छ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ।
आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ। यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ।
