भदौ २३ र २४ गतेका जेनजी प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड र अन्य फौजदारी घटनाबारे अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने भएको छ । छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार यस्ता घटनामा नियमित कानुनी प्रक्रिया रोकिनु पर्ने कुनै कारण छैन । उनले भने, “फौजदारी अभियोगमा अनुसन्धान र कारबाही गर्नका लागि आयोगको प्रतिवेदन कुर्नु पर्दैन। नियमित तहकिकातमा आयोगले अवरोध गर्दैन ।”

यसअघि गृह मन्त्रालयले भदौ २३ र २४ का घटनासम्बन्धी प्रतिवेदन नआएसम्म कारबाही नगर्न निर्देशन दिएको थियो, जसको चौतर्फी आलोचना भएको थियो । कार्कीले स्पष्ट पारेका छन् कि आयोगले कानुनी निकायको नियमित अनुसन्धान प्रक्रियामा कुनै रोकावट गर्ने छैन र सम्बन्धित संयन्त्रले आफ्नो दायित्व निर्वाह गर्न सक्नेछन् ।
