Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

साढे १२ करोडमा जंगल र नदी किनारबीच बनेको रिसोर्ट

कोभिड महामारी सकिएलगत्तै देवानन्द अर्याल एक दिन साथीहरूसँग वनभोज गएका थिए।

ठाउँ थियो— गोबारपुरको राप्ती नदी किनार।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित गोबारपुर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अगैया बजारदेखि तीन किलोमिटर पश्चिम र राजमार्गदेखि एक किलोमिटर दक्षिणको गाउँ हो। सबभन्दा नयाँ राष्ट्रिय निकुञ्ज ‘बाँके राष्ट्रिय निकुञ्ज’ अन्तर्गतको हात्तीसार रहेको ठाउँ पनि हो।

दुवैतर्फ घना जंगल, बीचमा राप्ती नदी। उदय र अस्त दुवै बेलाको सूर्य पानीमा छचल्किने!

थारू बस्ती गोबारपुर मुन्तिरको यो नदी किनार देवानन्दलाई असाध्यै मनपर्‍यो। यहाँ उनले भविष्य देखे।

‘यत्तिको ठाउँ भएपछि मान्छेलाई रमाउन के चाहिन्छ र भन्ने लाग्यो,’ ४८ वर्षीय देवानन्दले भने, ‘मैले यहाँ रिसोर्ट खोल्ने सपना देखेँ।’

त्यही सपना साकार पार्दै उनले यहाँ खोले— अगैया स्प्रिङ रिभरसाइड रिसोर्ट।

दुई महिना अगाडि सञ्चालनमा आएको यो रिसोर्टमा कटेज सहित युरोपियन डिजाइनमा बनेका १३ वटा भवन छन्। एकाध बाहेक सबैजसो कटेजका छाना रातो जस्तापाताले सजाइएको छ।

पाहुनाका लागि कुल ३० वटा कोठा छन्। एक रातमा ८५ जनासम्म बस्न मिल्छ। कार्यक्रमहरू गर्न तीन सय जना अटाउने हल छ। रेस्टुरेन्टमा एकै पटक डेढ सय जनासम्मले बसेर खान सक्छन्। साँझ–बिहान हिँड्न बगैंचा बनाइएको छ। त्यहाँ बसेर चिया–खाजा खान मिल्ने गरी टेबल-कुर्सी राखिएका छन्। त्यहीँ ठूलो स्विमिङ पुल पनि छ।

 

 

यहाँ पचास वटा कार र डेढ सय वटाभन्दा बढी दुईपांग्रे सवारी साधन पार्क गर्न मिल्छ।

अगैया स्प्रिङ रिभरसाइड रिसोर्टमा सिंगल (एक जना बस्न मिल्ने), मास्टर (दुई जना बस्न मिल्ने) र ट्रिपल (तीन जना बस्न मिल्ने) बेड भएका कोठा छन्। सिंगल र मास्टरको दुई हजार पाँच सय र ट्रिपलको ३ हजार ५ सय रूपैयाँ तिर्नुपर्छ। शाकाहारी खाना ५ सय, ब्रोइलर कुखुरा मासु खाना ६ सय र राप्तीको माछा, लोकल कुखुरा तथा खसीको मासु खाना ७ सय ५० रूपैयाँमा पाइन्छ।

प्याकेजमा बस्नेलाई शुल्क कम पर्छ।

‘पाहुनाले आफै माछा–मासु पोलेर खान पनि पाउँछन्। यो काममा होटलका कर्मचारीले सहयोग गर्छन्,’ देवानन्दले भने।

त्यस्तै बाँके राष्ट्रिय निकुञ्ज घुम्न जिप सफारी, राप्तीमा बोटिङ र र्‍याफ्टिङ सुविधा छ। चार–पाँच घन्टाको जिप सफारी (१० जना क्षमता) का लागि १३ हजार रूपैयाँ पर्छ। डेढ घन्टा बोटिङ गर्न २ सय ५० र साढे दुई घन्टा र्‍याफ्टिङ गर्न एक हजार २ सय ५० रूपैयाँ तिर्नुपर्छ।

‘यहाँ अहिलेसम्म साढे १२ करोड रूपैयाँ लगानी भएको छ। यो प्रोजेक्ट कुल १५ करोडको हो। अझै कटेज, गेट, बाहिरी साजसज्जा, लाइटिङ लगायत काम बाँकी छ,’ देवानन्दले भने।

यो रिसोर्ट देवानन्दको एकल लगानीमा बनेको हो। उनले यसका लागि ऋण लिनुपरेन। किनभने, यसअघि पनि उनले तारेस्तरका होटलहरू चलाएका थिए जसबाट राम्रो कमाइ भएको थियो।

कोहलपुरकै बासिन्दा देवानन्द सानैदेखि होटल व्यवसायमा आकर्षित थिए। घर नजिकका होटलमा पश्चिमा मुलुकका पाहुना आएको, खाएको, बसेको देख्दा उनी रमाउँथे। त्यति बेलैदेखि उनको मनमा होटल खोल्ने इच्छा थियो।

devananda-1764004619.jpeg
देवानन्द अर्याल

 

२०५८ सालमा उनी काम गर्न कोरिया गए। अनि २०६५ सालमा फर्किएर होटल व्यवसायमा लगानी गरे।

उनले २०६६ सालमा कोहलपुरमा तारे होटल ‘सेन्टर प्लाजा’ खोले। पछि नेपालगन्ज मेडिकल कलेज अगाडि यही नाममा अर्को होटल चलाए। दुवैबाट राम्रो कमाइ भइरहेको थियो। कोरोना महामारीपछि भने व्यवसाय धराशायी भयो र ती होटल बेच्नुपर्‍यो।

२०७८ सालमा उनले फेरि बर्दियाको ठाकुरद्वारामा ‘जंगल सेन्टर प्लाजा’ खोले। आफ्नै जग्गामा सञ्चालित यो होटल अहिले पनि चलिरहेको छ।

‘कोहलपुरका होटल बेचेर आएको पैसा अगैया स्प्रिङ रिभरसाइड रिसोर्टमा लगानी गरेँ,’ उनले भने।

गोबारपुरको राप्ती नदी किनारमा जमिन किन्नै उनलाई तीन वर्ष लागेको थियो। एकलास नदी किनारको जग्गाको भाउ र महत्त्व धेरै थिएन। तर आफूलाई चाहिए जति जुटाउन मुस्किल थियो। स्थानीय दस जना मानिसलाई मनाएर उनले एक बिघाभन्दा बढी जग्गा किने।

त्यतिन्जेल उनले जग्गा किन किनेको भनेर स्थानीयलाई भनेका थिएनन्। जब २०८१ साउनमा अगैया स्प्रिङ रिभरसाइड रिसोर्टको जग हालियो, तब मात्रै स्थानीयले यहाँ ठूलो होटल बन्न लागेको थाहा पाए।

 

 

पश्चिम नेपालका अरू सम्भावनायुक्त सहर छाडेर, सुनसान राप्ती किनारमा त्यति धेरै लगानीमा रिसोर्ट खोल्न लागेको देखेर कति स्थानीयले देवानन्दको खिल्ली उडाए।

‘मलाई यो मान्छे बौलायो सम्म भनेका थिए, अहिले दंग पर्छन्,’ देवानन्दले भने, ‘यहाँ आउने हरेक पाहुनाले टिकटक, रिल्स बनाएर हाल्छन्। त्यही हेरेर नयाँ नयाँ पाहुना आइरहेका छन्। हामीले भन्दा पनि पाहुनाले नै धेरै प्रचार गरिदिएका छन्।’

अहिले गोबारपुरको नाम यही रिसोर्टका कारण चर्चित हुँदै गएकोमा ५७ वर्षीय स्थानीय जितबहादुर चौधरी खुसी छन्। रिसोर्ट बनेपछि पहिले हेपिएको र अवमूल्यन भएको जग्गाको भाउ पनि बढेको उनले बताए।

‘यो त हामी ग्वाला–गोठाला बसेको ठाउँ थियो। अहिले मोटरगाडी आइरहन्छन्, चहलपहल बढेको छ। त्यो देख्दा रमाइलो लाग्छ,’ उनले भने।

रिसोर्ट खुलेपछि स्थानीय तरकारी, कुखुरा र खसीले पनि राम्रो मूल्य पाउन थालेको उनले बताए।

अगैया स्प्रिङमा कुल २० जना युवा काम गर्छन् जो सबै गोबारपुरकै हुन्। उनीहरूलाई देवानन्दले आफै प्रशिक्षण दिएर हस्पिटालिटी सिकाइरहेका छन्।

यहाँ वेटर काम गरिरहेका मनिष विश्वकर्माले रिसोर्टकै कारण आफूजस्ता युवाले कमाउने बाटो पाएको बताए। उनी स्थानीय स्कुलमा कक्षा १२ मा पढिरहेका छन्।

‘आफ्नो पढाइ खर्च आफै जुटाउन सक्ने भएको छु,’ उनले भने, ‘नयाँ नयाँ मान्छेबाट नयाँ कुरा देख्न र सिक्न पाएको छु।’

जितबहादुर चौधरी (बायाँ) र मनिष विश्वकर्मा

 

ग्रामीण क्षेत्रमा कुनै पनि पेसा वा व्यवसायका लागि टिकाउ र दक्ष जनशक्ति पाउन कठिन भएकाले होटल म्यानेजमेन्ट लगायत प्राविधिक शिक्षामा युवा र राज्यले जोड दिन जरूरी रहेको देवानन्द बताउँछन्।

देवानन्द २०७९ सालको स्थानीय तह निर्वाचनमा कोहलपुरको मेयरमा स्वतन्त्र उम्मेदवार पनि बनेका थिए। त्यसमा विजयी नभएपछि उनले व्यवसायमार्फत नै देशको समृद्धिमा टेवा पुर्‍याउने निधो गरे।

अहिले अगैया स्प्रिङको काममा व्यस्त उनलाई शुक्रबार, शनिबार र बिदाका दिन आउने पाहुनाले निकै उत्साहित बनाउँछन्।

उनका अनुसार बिदामा त धेरैलाई चाहेर पनि बसाउन सक्ने अवस्था हुँदैन। कलेज वा संघसंस्थाका मानिसहरू समूह नै बुकिङ गरेर आउने भएकाले त्यस्तो बेला गाह्रो पर्छ।

‘यो रिसोर्ट लामो अध्ययनपछि जन्मिएको सपना हो,’ देवानन्दले भने, ‘मेरो उद्देश्य विदेशीभन्दा पनि नेपाली, विशेष गरी मध्यम वर्गीय पाहुना आकर्षित गर्नु हो।’

 

 

 

 

Screenshot

Screenshot

Screenshot

Screenshot

Screenshot

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.