पछिल्लो समय विश्वभर छाएको नेपालबारे सबभन्दा सुखद समाचार यही हुनुपर्छ — प्रकृतिसँगको निकटताको मापन गर्दा नेपाल अब विश्वमै पहिलो।

विभिन्न देशका मानिस कसरी प्राकृतिक संसारसँग जोडिएका छन् भन्नेबारे गरिएको पछिल्लो विश्वव्यापी अध्ययनले नेपाल प्रकृतिसँग सबभन्दा धेरै जोडिएको देशको सूचीको सबभन्दा पहिलो स्थानमा रहेको देखाएको छ।
नेपाललाई इरान, दक्षिण अफ्रिका, बंगलादेश र नाइजेरियाले पछ्याएका छन्।
त्यो विश्वव्यापी खोजको नेतृत्व गरेका डाबी विश्वविद्यालयका प्राध्यापक माइल्ज रिचर्डसनसँग मैले इमेलमार्फत अन्तर्क्रिया गरेँ।
उनका विचारमा यस्तो उच्च मूल्यांकनबाट नेपालले कसरी प्रचुर फाइदा लिन सक्छ?
यसको चर्चा एकै छिनमा।
नेपालले सबभन्दा उच्च अंक पाएको त्यो अध्ययन विश्वका ६१ देशका ५७ हजार मानिससँग सोध गरिएको थियो। त्यसको निस्कर्ष अनुसार ब्रिटेन, नेदरल्यान्ड्स, क्यानडा, जर्मनी, इसराइल, जापान, स्पेनजस्ता देश प्रकृतिसँग सबभन्दा कम जोडिएको पाइएका थिए। तर अति विकसित मानिने ती देश प्रकृतिसँग सबभन्दा धेरै जोडिएका देशको सूचीको पिँधमा रहेको देखाइएको छ।
ब्रिटेन र अस्ट्रियाका अध्येता सहभागी नयाँ अध्ययनबारेको आलेख यसै साता ब्रिटेनको गार्डियन अखबार, एम्बिओ जर्नल र फाइन्डिङ नेचरमा प्रकाशन गरिएको छ।
ती अध्येताका भनाइमा कुनै पनि देश प्रकृतिसँग कति धेरै वा कम जोडिएको छ भन्ने कुरा भावनात्मक र मनोवैज्ञानिक विषय हो, जसले मानिसको अन्य प्रजातिसँगको सम्बन्ध मापन गर्छ।


अध्येताहरूको निष्कर्ष छ — प्रकृतिसँग धेरै जोडिएका देशका मानिस पर्यावरणमैत्री स्वभावका हुन्छन् र उनीहरूको समग्र स्वास्थ्य अवस्था राम्रो हुन्छ। त्यसको ठिक विपरीत प्रकृतिसँग कम जोडिएका देशमा जैविक विविधता जोखिममा हुन्छ। र, समाजमा असमानतासँगै व्यक्तिवादी र भौतिकवादी चरित्र हाबी हुन्छ।
तथापि प्रकृतिसँग कम जोडिएका ती देशमा व्यापार, व्यवसाय सहज हुन्छ। प्रकृतिसँगको निकटताको सूचीमा तल परे पनि ती देश विश्व बैंकको ‘डुइङ बिजनेस रिपोर्ट’ मा अब्बल स्थानमा रहेको पाइएको छ।
प्रमुख अध्येताले नेपाललाई दिएको सुझाव

ब्रिटेनको डाबी विश्विद्यालयका प्रोफेसर माइल्ज रिचर्डसन पछिल्लो अध्ययनका प्रमुख अध्येता हुन्। उनी मध्य ब्रिटेनको डाबी विश्वविद्यालयमा ह्युमन फ्याक्टर्स र नेचर कनेक्टेडनेस (मानव पक्ष र प्राकृतिक सम्बन्ध) का प्राध्यापक हुन्।
नेपाल प्राय: प्राकृतिक र मानवसिर्जित विध्वंशका कारण विश्व समाचारमा छाउँछ। प्रदूषण, पारदर्शिता, जलवायु परिवर्तनका नकारात्मक प्रभाव र अल्पविकासका सूचकांकहरूमा नेपाल लगभग पुछार वा पिँधमा पर्छ। नेपाल पर्वतीय पर्यटकीय गन्तव्य तथा साहसिक गतिविधिका घुम्नैपर्ने गन्व्यका रूपमा मात्र अब्बल देखिन्छ।
प्रकृतिसँग कुन देश धेरै जोडिएको भन्नेबारे पछिल्लो विश्वव्यापी अध्ययनमा समेत नेपाल सबभन्दा अब्बल साबित भएपछि अब नेपालले के के फाइदा लिन सक्ला?
यो प्रश्न मैले यो नयाँ अध्ययनका प्रमुख अध्येता प्रोफेसर माइल्जलाई इमेलमार्फत राखेको थिएँ।
सुरूमा त उनले आफू जबाफ दिने स्थानमा नभएको बताए।
तथापि उनले भने, ‘विश्वमै प्रकृतिसँग सबभन्दा धेरै जोडिएको देशका रूपमा नेपालले आफूलाई मानव–प्रकृति मिलनको दृष्टिले विश्वको नेताको रूपमा उभ्याउन सक्छ।’
त्यसो गरेर ‘केही प्राकृतिक मूल्य चुकाएर भए पनि आर्थिक फाइदा लिएका अति औद्योगिक विकासका नमूनाहरूको विपक्षमा उभिएर नेपालले फरक भाष्य प्रस्तुत गर्न सक्छ।’
प्रोफेसर माइल्जका विचारमा नेपालले पछिल्लो उपलब्धिबाट प्रचूर फाइदा लिन ठाउँ प्रशस्त छन्।
उदाहरणका लागि, प्रकृतिसँग सबभन्दा धेरै जोडिएको उपलब्धिलाई नेपालले कूटनीतिक, वातावरणीय र सांस्कृतिक मञ्चहरूमा प्रस्तुत गर्न सक्छ। त्यस क्रममा नेपालले यो उपलब्धिलाई वातावरणीय कूटनीतिका साथै दीगो विकास लक्ष्य (एसडिजी) बारेका बहसहरूमा समेत प्रस्तुत गर्न सक्छ।
उनका अनुसार नेपालले आफू प्रकृतिसँग विश्वमै सर्वाधिक नजिक पाइएको प्रमाणलाई आफ्नो सांस्कृतिक कूटनीतिमा प्रयोग गर्ने सम्भावना धेरै छ।
प्रोफेसर माइल्जले अगाडि भने, ‘नेपालले प्रकृतिलाई पुज्ने आफ्ना चालचलनहरूलाई आफ्ना सांस्कृतिक आदानप्रदानका कार्यक्रममार्फत साझा गर्न सक्छ। सायद यो बुझेर अन्तर्राष्ट्रिय दाता तथा संरक्षण संस्थाहरू नेपालको प्रकृतिसँग जोडिएका पहलहरूलाई सहयोग गर्न तत्पर हुन सक्छन्। उनीहरूले नेपालको यो विशेषतालाई फलदायी लगानीको उर्बर भूमि मान्न सक्छन्।’
उनको भनाइमा विश्वका अति विकसित देशहरू प्रकृतिसँग कम जोडिएको पाइनु सबैका लागि ठूलो पाठ हुन सक्छ।
प्रोफेसर माइल्जले भने, ‘बिर्सिन नहुने कुरा के हो भने पृथ्वीमा चाँडै चाँडै औद्योगिकीकरण भएका देशहरू यो अध्ययनले बनाएको सूचीको पुछारमा पुगेका छन्। त्यसले के संकेत गर्छ भने नेपालजस्ता देशहरूले आफूसँग जे छ, त्यसलाई गुमाउनु हुँदैन। आफ्नो स्थानीय ज्ञानप्रति गर्व गर्नुपर्छ। आफ्नो देशको प्राकृतिक सौन्दर्य मात्र होइन, नेपालको भावनात्मक र आध्यात्मिक महत्त्वलाई विश्व समुदायसँग बाँड्नुपर्छ।’
उनले दिएको अझै महत्त्वपूर्ण सुझाव यस्तो छ — प्रकृतिसँग सम्बन्ध विच्छेद हुन पुगेका देशहरूलाई नेपालले आउने दिनमा के के सिकाउन सक्छ भन्ने कुरा विचार गरेर अघि बढ्नुपर्छ।
यसै साता फाइन्डिङ नेचर ब्लगमा प्रकाशित लेखमार्फत उनले पृथ्वीमा बढ्दो जैविक विविधताको ह्रास कम गर्न समग्र विश्व समुदायले नै प्रकृतिसँगको अन्तर्क्रियाका तौरतरिकामा व्यापक फेरबदल ल्याउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
उनी लेख्छन् — त्यसनिम्ति सबभन्दा शक्तिशाली औजार सबै जना प्रकृतिसँग भावनात्मक रूपमा जोडिनु नै हो।
नेपाली विज्ञ के भन्छन्?

पछिल्लो खबर सुनेर नेपाली प्रकृतिप्रेमी तथा विज्ञहरू निकै उत्साहित बनेका छन्। एक विज्ञले प्रकृतिसँगको निकटतामा ‘प्राकृतिक स्वर्ग भनी चिरपरिचित’ नेपाल अहिले सबभन्दा अब्बल पाइएको खबरले आफू अचम्मित भने नभएको बताए।
त्रिभुवन विश्वविद्यालको केन्द्रिय वनस्पति विभागकी प्रमुख प्रोफेसर संगीता राजभण्डारीले भनिन्, ‘नेपाल प्राकृतिक स्रोत साधनमा एकदमै धनी छ भन्ने सबैलाई थाहा छ। यो खबर सुनेर निकै उत्साहित भएकी छु।’
उनको विचारमा नेपालमा निःस्वार्थ भएर काम गर्ने हो भने हामीले प्रकृतिबाट धेरै फाइदा लिन सक्छौं।
उनले भनिन्, ‘हाम्रा फरक फरक पूजामा फरक फरक बोटबिरूवा आवश्यक पर्छन्। हाम्रा बिरूवामा यति धेरै औषधीय गुण छ कि, हामीले अध्ययन गर्न पनि भ्याएका छैनौं। हाम्रा सहरवासीलाई अनेकथरि रोग लाग्छ। गाउँमा हरिया सागसब्जी र फल खानेलाई कम लाग्छ, किन?’
पर्यटनविद एवं संरक्षणकर्मी कर्ण शाक्यले पनि आफू पछिल्लो खबर सुनेर धेरै अचम्मित नभएको बताए।
‘नेपालको हरेक समुदाय र संस्कृति प्रकृतिसँग जोडिएको छ। यहाँको जस्तो प्राकृतिक र सांस्कृतिक विविधता अन्यत्र कहीँ छैन। हाम्रा यस्ता कुरालाई समुदाय तथा सरकारले थप संरक्षण गर्दै प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने।
व्यापक नेपाली विविधता
नेपाली प्रकृति र संस्कृतिबारे यी तथ्य केहीबेर मनन गरौं — नेपालमा एक सय थरिभन्दा बढी जातजाति, आदीवासी, जनजातिका रूपमा सूचीकृत छन्। उनीहरू लगभग त्यति नै धेरै भाषा बोल्छन्। उनीहरू विभिन्न धर्म र संस्कृति मान्छन्। हिमाल, पहाड र तराईमा छरिएका उनीहरू मानव समुदाय र प्रकृतिसँग सदियौंदेखि मिलेर बसेको पाइन्छ।
भारत र चीनको तुलनामा सानो भए पनि नेपालको ४६ प्रतिशत भूभाग वन तथा झाडीबुट्यानले ढाकेको छ। देशको २४ प्रतिशत भूभाग संरक्षित क्षेत्रभित्र समेटिएको छ। जैविक विविधतामा नेपाल यति धनी छ, यो भूभागभित्र करिब १७ हजार जीवजन्तु भेटिएका छन्। अनि झन्डै ७ हजारथरि बोटबिरूवा पाइएका छन्।
हिमालय क्षेत्रको जैविक विविधताका विषयमा व्यापक अध्ययन तथा सोध गरेका विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि घनश्याम गुरूङ, त्रिवि केन्द्रिय वनस्पति विभागकी प्रमुख संगीता राजभण्डारीसँग एउटा कुरामा सहमत छन् —प्रकृतिसँग निकटतामा नेपाल अब्बल साबित भएपछि सम्भावनाका धेरै ढोकाहरू खुल्नेछन्।
गुरूङले भने, ‘यस्तो दर्जा पाएपछि नेपाल विश्वका लागि मानिसको प्राकृतिक संसारसँगको सु-सम्बन्धबारे अध्ययनको केन्द्र बन्न सक्छ। यसले नेपाललाई विश्वको प्राकृतिक, आध्यात्मिक तथा सांस्कृतिक पर्यटकीय नक्सामा अझै देखिने गरी राखिदिएको छ। यसले नेपालका अद्वीतिय अनुभव प्रवर्द्धन गर्दै, वातावरणीय र सांस्कृतिक हिसाबले जिम्मेवार बन्दै फाइदा लिने अवसर दिन्छ।’
